हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सर्लाही जिल्ला बाल क्लब सञ्जालको विशेष आग्रह
- मलंगवा, सर्लाही |साउन १५ सर्लाही जिल्ला बाल क्लब सञ्जालले हिंसात्मक घटनाका क्रममा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालासँग विशेष आग्रह गरेको छ।
- सञ्जालका जिल्ला अध्यक्ष वेद प्रकाश झाद्वारा जारी प्रेस विज्ञप्तिमा हालका घटनाले बालबालिकाको सुरक्षा र अधिकारमाथि गम्भीर चुनौती थपिएको उल्लेख गरिएको छ।

मलंगवा, सर्लाही |साउन १५
सर्लाही जिल्ला बाल क्लब सञ्जालले हिंसात्मक घटनाका क्रममा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालासँग विशेष आग्रह गरेको छ। सञ्जालका जिल्ला अध्यक्ष वेद प्रकाश झाद्वारा जारी प्रेस विज्ञप्तिमा हालका घटनाले बालबालिकाको सुरक्षा र अधिकारमाथि गम्भीर चुनौती थपिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार, सिरहाको गोलबजार नगरपालिकामा प्रदर्शनका क्रममा १७ वर्षीय बालक गणेश यादवमाथि गोली प्रहार भई मृत्यु भएको घटनाप्रति सञ्जालले गहिरो दुःख, पीडा र शोक व्यक्त गरेको छ। साथै स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।
सञ्जालले शान्तिपूर्ण रूपमा आफ्नो माग र आवाज उठाउने क्रममा भएको यस्तो हिंसात्मक घटना अत्यन्तै निन्दनीय, अमानवीय तथा बालअधिकारको खुला उल्लङ्घन भएको जनाएको छ। कुनै पनि परिस्थितिमा बालबालिकामाथि हुने हिंसा, दमन, बल प्रयोग वा गोली प्रहारजस्ता कार्य स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमार्फत घाइते भएका बालबालिकाको शीघ्र उपचार, आवश्यक सहयोगको व्यवस्था, घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ।
साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न, बालमैत्री नीति निर्माण तथा कार्यान्वयनलाई प्राथमिकता दिन र बालबालिकाको अधिकार, सुरक्षा, सम्मान तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय तथा सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा सञ्जालले जोड दिएको छ।
सर्लाही जिल्ला बाल क्लब सञ्जालले बालअधिकार संरक्षणका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै हिंसारहित, सुरक्षित र बालमैत्री समाज निर्माणका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ