जेन–जी प्रदर्शनबारे आयोगको प्रतिवेदन सरकारलाई, सार्वजनिक नगरे अर्को आन्दोलन उठ्नसक्ने चेतावनी
- काठमाडौँ ।
- जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

काठमाडौँ । जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
आयोगका संयोजक गौरीबहादुर कार्की ले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा नलगिए युवाहरूको अर्को आन्दोलन उठ्नसक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूकै उपस्थितिमा प्रतिवेदन सार्वजनिक गर्न आफूले आग्रह गरेको उनले बताए।
उनका अनुसार प्रतिवेदन कार्यान्वयनमा नल्याइए र सार्वजनिक नगरिए जेन–जीका युवाहरू पुनः आन्दोलनमा उत्रिन सक्ने अवस्था सिर्जना हुन सक्छ। “प्रतिवेदन सार्वजनिक गरिएन भने फेरि आन्दोलन आउन सक्छ, त्यसकारण त्यसको सामना गर्न तयार रहनुहोस् र यो सार्वजनिक गर्नुहोस् भनेर मैले सरकारलाई भनिदिएको छु,” कार्कीले बताए।
गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस
आयोगले प्रदर्शनका क्रममा फागुन २३ र २४ गते भएका घटनाको सूक्ष्म छानबिन गरेको जनाएको छ। फागुन २३ गते भएको घटनामा किशोरहरूको ज्यान जाने अवस्थासम्म पुगेको विषयमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको संयोजक कार्कीले जानकारी दिए।
दोषीहरूको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्रै खुल्ने उनले बताए। उनका अनुसार गोली हान्ने, गोली हान्न लगाउने तथा गोली रोक्न नसक्ने सबैलाई जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरिएको छ।
कसैलाई बचाउन खोजिएको छैन
प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा सञ्चारमाध्यममा आएका विभिन्न अड्कलबाजीलाई पनि कार्कीले अस्वीकार गरेका छन्। कसैलाई बचाउन वा चुनावको नतिजा कुरेर प्रतिवेदन बुझाउन ढिला नगरिएको उनले स्पष्ट पारे।
“हामीले चुनावको नतिजा कुरेका होइनौँ, त्यससँग हाम्रो कुनै सम्बन्ध छैन,” उनले भने, “कसैलाई कारबाहीबाट जोगाउन खोजिएको भन्ने कुरा पनि सत्य होइन। जो दोषी देखिएका छन् उनीहरूलाई कारबाहीको सिफारिस गरिएको छ।”
उनले प्रतिवेदन तयार गर्ने क्रममा देश, जनता र सहिदहरूको पक्षमा काम गरेको बताउँदै आयोगले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको दाबी गरे।
सरकारले जाँचबुझ आयोग ऐनअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको सिफारिस गर्न उक्त आयोग गठन गरेको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ