नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
- नबिल बैंक लिमिटेड ब्रह्मपुरी शाखाको चरम लापरवाहीका कारण सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरका विभिन्न उपभोक्ता समितिहरू गम्भीर मारमा परेका छन्।
- बैंकका कर्मचारीले खाता खोलिदिने आश्वासन दिएर काम झुलाइदिँदा विकास निर्माणका काम सकिएर पनि उपभोक्ता समितिहरूले भुक्तानी पाउन सकेका छैनन्।

नबिल बैंक लिमिटेड ब्रह्मपुरी शाखाको चरम लापरवाहीका कारण सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरका विभिन्न उपभोक्ता समितिहरू गम्भीर मारमा परेका छन्। बैंकका कर्मचारीले खाता खोलिदिने आश्वासन दिएर काम झुलाइदिँदा विकास निर्माणका काम सकिएर पनि उपभोक्ता समितिहरूले भुक्तानी पाउन सकेका छैनन्।
करिब १५ दिनअघि ब्रह्मपुरी गाउँपालिकाले गठन भएका विभिन्न उपभोक्ता समितिहरूको खाता नबिल बैंकको ब्रह्मपुरी शाखामा खोल्नका लागि पत्र पठाएको थियो। खाता खोल्न आवश्यक सम्पूर्ण कागजात लिएर बैंक पुगेका समितिका पदाधिकारीहरूलाई बैंकका कर्मचारीले कागजपत्र बुझ्दै “खाता नम्बर पालिकामै पठाइदिने” भन्दै फर्काएका थिए।
’त्रिभुवननगरको विभिन्न ठाउँमा माटो तथा ग्राभेलको काम’ नामक उपभोक्ता समितिका अध्यक्ष रामबाबु महतोका अनुसार बैंककै कर्मचारीको भर परेर उनीहरू ढुक्क भएका थिए।
त्यस्तै, ‘रामबहादुरको घरदेखि शम्भु सिंहको घरसम्म सडक ढलान तथा नालाको ढक्कन’ उपभोक्ता समितिका अध्यक्ष महेश महतोले आफूहरूले पटक–पटक बैंकमा सम्पर्क गर्दा “खाता खुलिसकेको र इमेलमार्फत गाउँपालिकाको मेलमा पठाइसकेको” भन्दै कर्मचारीले ढाँटेको आरोप लगाए।
बैंकका कर्मचारीले खाता खुलिसकेको दाबी गरे पनि गाउँपालिकाका लेखा प्रमुख अनिल दासले भने सम्बन्धित उपभोक्ता समितिहरूको खाता बैंकले नखोलेको स्पष्ट पारेका छन्।
पालिकाबाट खाता नखुलेको जानकारी पाएपछि आक्रोशित बनेका उपभोक्ता समितिका पदाधिकारीहरूले बैंक प्रबन्धक (Branch Manager) सँग पटक–पटक फोनमार्फत सम्पर्क गर्न खोज्दा फोन समेत नउठाइएको गुनासो गरेका छन्।
उपभोक्ता समितिहरूका अनुसार योजना कार्यान्वयनका क्रममा मजदुर, मिस्त्री तथा सिमेन्ट, छड, बालुवा, गिटीलगायतका निर्माण सामग्रीहरू उधारोमा ल्याएर काम सम्पन्न गरिएको छ। तर बैंकको लापरवाहीले खाता सञ्चालन नहुँदा भुक्तानी प्रक्रिया ठप्प भएको छ। “हाम्रो काम भइसक्यो तर भुक्तानी पाउन सकेनौं। अब उधारो सामान दिने र मजदुरहरूलाई भुक्तानी कसले गर्ने? यसको दोषी को हो र कारबाही के हुन्छ?” भनी अध्यक्ष महेश महतोले प्रश्न गरेका छन्।
आज उपभोक्ता समितिका प्रतिनिधिहरू बैंकमा खाता किन नखोलिएको भन्ने विषयको कारण बुझ्न पुगेका थिए। तर, बैंक प्रशासनले समस्याको समाधान दिनुको सट्टा उल्टै गेटमै रहेका सुरक्षागार्ड ललितले गाली बेइज्जती गर्दै, धक्कामुक्की गरेर दुर्व्यवहार गरेको आरोप अध्यक्ष महेश महतोले लगाएका छन्।
आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका कामको भुक्तानी लिनुपर्ने संवेदनशील समयमा बैंक जस्तो जिम्मेवार निकायले देखाएको यस्तो गैरजिम्मेवारपन र उपभोक्तामाथिको दुर्व्यवहारले स्थानीयस्तरमा तीव्र असन्तोष बढाएको छ।
यस विषयमा नबिल बैंक ब्रह्मपुरी शाखा तथा सम्बन्धित सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन भने बाँकी छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ