नेपाल–चीन यू–२० महिला फुटबल मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने
- काठमाडौं ।
- नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोलीले चीनको युनान यूथ महिला टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

काठमाडौं । नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोलीले चीनको युनान यूथ महिला टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। उक्त खेल आगामी २०२६ जनवरी ३१ मा दशरथ रंगशालामा आयोजना हुने तय भएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको आधिकारिक जानकारी सार्वजनिक गरेको हो। एन्फा, युनान विश्वविद्यालय अन्तर्गत शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा हुन लागेको यस खेलमा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वय रहने जनाइएको छ।
चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको यस मैत्रीपूर्ण खेलले नेपाली यू–२० महिला टोलीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक अनुभव हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, यस्ता खेलहरू नेपाली महिला फुटबलको दीर्घकालीन विकासका लागि महत्वपूर्ण हुने आयोजकको धारणा छ।
खेल सुरु हुनु अघि नेपाल र चीनका सांस्कृतिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिने कार्यक्रम रहेको छ। चिनियाँ टोली जनवरी २९ मा नेपाल आइपुग्ने तयारी भइरहेको एन्फाले जनाएको छ।
एन्फाले पछिल्ला तीन वर्षदेखि नेपाल र चीनका युवा टोलीहरूबीच निरन्तर मैत्रीपूर्ण खेलहरू आयोजना गर्दै आएको छ। यसैक्रममा नेपाली राष्ट्रिय यू–२० महिला टोली मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा व्यस्त रहेको छ।
उक्त खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टिभीको वेबसाइटमार्फत गरिने जानकारी पनि आयोजकले दिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ