अमेरिका र नेपालबीच सांस्कृतिक सम्पत्ति संरक्षण सम्झौतामा हस्ताक्षर
- काठमाडौं ।
- संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति संरक्षणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
काठमाडौं ।
संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति संरक्षणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि आयोजित कार्यक्रममा बोल्दै सचिव निरौलाले मानव इतिहास, पहिचान र सभ्यताको अपूरणीय प्रमाणका रूपमा रहेका सांस्कृतिक सम्पत्तिको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनले सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न तथा चोरी वा अवैध रूपमा निर्यात गरिएका सम्पत्तिको पुनःप्राप्ति र संरक्षणमा अमेरिकी सरकारको निरन्तर सहयोगको प्रशंसा गरे।
उनका अनुसार उक्त सम्झौताले सूचना आदानप्रदान, रोकथामका उपाय, क्षमता विकास तथा जनचेतना अभिवृद्धि मार्फत वर्तमान तथा भावी पुस्ताका लागि सांस्कृतिक सम्पत्ति सुरक्षित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
यसैगरी, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सांस्कृतिक सम्पत्ति सम्झौता अमेरिकी सांस्कृतिक सम्पदा नीतिको एक महत्वपूर्ण आधारस्तम्भ भएको बताए। उनले सम्झौतासँगै नेपाल संयुक्त राज्य अमेरिकासँग यस्ता सम्झौता गर्ने विश्वका ३० देशमध्ये एक बनेको उल्लेख गरे।
राजदूत थम्पसनका अनुसार यस्ता सम्झौताले अमेरिकी सङ्कलक, संग्रहालय तथा सांस्कृतिक संस्थाहरूलाई अनजानमा लुटिएका वा तस्करी गरिएका पुरातात्त्विक तथा सांस्कृतिक वस्तु खरिद गर्नबाट जोगाउनुका साथै सांस्कृतिक सम्पत्तिको अवैध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय आपराधिक तथा आतंकवादी समूहहरूको आर्थिक स्रोत अवरुद्ध गर्न सहयोग पुर्याउँछन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ