सोसल मिडियाको स्टण्टबाजीले जनमत भ्रमित भइरहेको छ : प्रचण्ड
- काठमाडौं ।
- मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरेको एक समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ।

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरेको एक समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पोलिटब्युरो सदस्य भिम चापागाईंको नेतृत्वमा रहेको उक्त समूह मंगलबार औपचारिक रूपमा नेकपामा प्रवेश गरेको हो।
समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा अहिले सिद्धान्त र विचारको अभाव देखिएको बताएका छन्। सामाजिक सञ्जालमा देखिने स्टण्टबाजीकै भरमा जनमत प्रभावित पार्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई वामपन्थी शक्तिहरू एकताबद्ध भएर मात्र परास्त गर्न सकिने उनको भनाइ थियो।
उनले वर्तमान अवस्थालाई चुनौतीपूर्ण बताउँदै भने, “आज देशमा विचारको खडेरी छ। सामाजिक सञ्जालको सतही प्रचारका आधारमा जनताको सोचलाई भ्रमित पार्ने काम भइरहेको छ। यस्तो अवस्थालाई वामपन्थीहरूको एकताले मात्र पार गर्न सकिन्छ।”
संयोजक प्रचण्डले मोहन वैद्य ‘किरण’ प्रति वैचारिक रूपमा सम्मान रहेको उल्लेख गर्दै व्यक्तिगत आक्रोश नरहेको स्पष्ट पारे। तर व्यवहारिक राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसक्दा देशले अपेक्षित परिवर्तन नपाउने टिप्पणी पनि गरे।
उनले जेनजी आन्दोलनपछि देश गम्भीर र असाधारण परिस्थितिमा पुगेको उल्लेख गर्दै यस्तो बेला राष्ट्रिय शक्ति निर्माण र विदेशी हस्तक्षेप रोक्न वाम एकताको आवश्यकता झनै बढेको बताए। सोही उद्देश्यले वाम एकताको अभियान अघि बढाइएको र बुधबारसम्म वाम एकतामा आबद्ध समूहहरूको संख्या २३ पुग्ने जानकारी समेत दिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ