कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम
- सर्लाही — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै पहिलो स्थान हासिल गरेको छ।
- आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ७०.

सर्लाही — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै पहिलो स्थान हासिल गरेको छ।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ७०.२१ अङ्कसहित लालबन्दी नगरपालिका जिल्लाका अन्य स्थानीय तहलाई पछि पार्दै पहिलो स्थानमा रहेको हो। ६४.३८ अङ्क प्राप्त गर्दै बरहथवा नगरपालिका दोस्रो तथा ६२.०१ अङ्कसहित हरिवन नगरपालिका तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी हरिपुर नगरपालिका ६१.१६ अङ्कसहित चौथो, कौडेना गाउँपालिका ५९.१८ अङ्कसहित पाँचौँ, बागमती नगरपालिका ५८.२० अङ्कसहित छैटौँ, विष्णु गाउँपालिका ५४.३४ अङ्कसहित सातौँ, धनकौल गाउँपालिका ५३.३७ अङ्कसहित आठौँ, चक्रघट्टा गाउँपालिका ५१.८० अङ्कसहित नवौँ र बलरा नगरपालिका ५०.२६ अङ्कसहित दशौँ स्थानमा रहेका छन्।

जिल्लाका अन्य १० स्थानीय तहले भने ५० अङ्क पनि कटाउन सकेका छैनन्। मलङ्गवा नगरपालिकाले ४९.२५, चन्द्रनगर गाउँपालिकाले ४८.१५, ईश्वरपुर नगरपालिकाले ४६.८३, पर्सा गाउँपालिकाले ४६.०७, बसबरिया गाउँपालिकाले ४५.६१, ब्रह्मपुरी गाउँपालिकाले ४४.५० र गोडैता नगरपालिकाले ४३.९६ अङ्क प्राप्त गरेका छन्।
मूल्याङ्कनको अन्तिमतिर रहेका हरिपुर्वा नगरपालिका, कविलासी नगरपालिका र रामनगर गाउँपालिकाले निकै कमजोर अङ्क प्राप्त गरेका छन्। हरिपुर्वा नगरपालिकाले ४२.७८, कविलासी नगरपालिकाले ४२.३५ र रामनगर गाउँपालिकाले ४०.५३ अङ्क प्राप्त गरेका छन्।
स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ को राजस्व तथा व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगर सभामा पेस गरे वा नगरेकोलगायत विभिन्न १७ वटा सूचकका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको संयुक्त प्रयासका कारण नगरपालिका जिल्लामै पहिलो हुन सफल भएको बताए। उनले आगामी दिनमा अझ पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ