डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल
- काठमाडौँ — ललितपुरको नक्खुस्थित एनसेलको डेटा सेन्टर आसपासका गल्लीहरूमा समय बिताउन कठिन हुन्छ ।
- केही मिनेट उभिँदा नै लुगा, अनुहार, नोटबुक जताततै धूलोको पत्रै–पत्र जमिसक्छन् ।

काठमाडौँ — ललितपुरको नक्खुस्थित एनसेलको डेटा सेन्टर आसपासका गल्लीहरूमा समय बिताउन कठिन हुन्छ । केही मिनेट उभिँदा नै लुगा, अनुहार, नोटबुक जताततै धूलोको पत्रै–पत्र जमिसक्छन् । निरन्तर कुदिरहने ट्रक र व्यस्त रहने विभिन्न थरी मेसिनको आवाजबीच पर्खालछेउ उभिएका सेक्युरिटी गार्डहरूले सो स्थानमा निरन्तर पहरा दिइरहेका देखिन्छन् ।
पर्खालभित्रका संरचनामा सर्भरहरू, तिनलाई चिस्याउने प्रणाली र बत्ती गएका बेला चालु हुने गरी तयारी अवस्थामा राखिएका डिजेल जेनेरेटरहरूको लामो लाइन छ । सो संरचना बन्दै गर्दा ललितपुरको वडा नं ४ र जोडिएको वडा नं १६ का बासिन्दालाई यस्तो किसिमको सेन्टर बन्दै छ भन्ने थाहा रहेनछ ।
‘सरजमिन गर्ने बेला हामीसँग दस्तखत लिँदा त वेयरहाउस अर्थात् गोदाम बनाउने भनेर लिइएको हो,’ वडा नं ४ स्थित एकता टोल विकास संस्थाकी अध्यक्ष ज्योत्सना गुप्ताले भनिन्, ‘पछि त यहाँ यत्रो ठूलो डेटा सेन्टर पो बन्यो, हामीसँग वडा समितिहरू कसैले पनि सल्लाह र छलफल गरेनन् ।’
डेटा सेन्टरकै सँधियारका छिमेकी गोपाल डंगोलका अनुसार उनीसँग अनुमति लिँदा पनि त्यहाँ थप टहरा बनाउने भनेर कागजात देखाइएको थियो । ‘कुनै पनि निर्माण कार्य गर्दा नक्सा पास र छिमेकीको मञ्जुरीनामा अनिवार्य चाहिने भएकाले उनीहरू मकहाँ पनि आएका थिए,’ डंगोलले भने, ‘मैले कागजात हेर्दा त्यसमा टहरा बनाउने उल्लेख थियो । त्यही देखेर मैले मञ्जुरीनामा दिएको थिएँ ।’ निर्माण कार्य सुरु भएपछि कामदारहरूसँग बुझ्दा त्यहाँ डिजेल जेनेरेटर राख्ने भवन बनाइएको र त्यो ‘टहरा’ निकै ठूलो परियोजना हो भन्ने थाहा पाएको डंगोलले बताए ।
विरोध सुरु हुन थालेपछि एनसेलले वडा ४ का बासिन्दासँग बैठक आयोजना गरेको र त्यसमा कुनै सहमति हुन नसकेको स्थानीय बताउँछन् । त्यस ठाउँबाट कुनै विकिरणको जोखिम नहुने भनिए पनि आफू र अन्य छिमेकीहरू विश्वस्त हुन नसकेको डंगोलको गुनासो छ । स्थानीयले आपत्ति जनाए पनि ललितपुर महानगरपालिकाले निर्माण स्वीकृति दिएको र त्यसलाई लिएर आजसम्म पनि आफूहरूले विरोध जनाइरहेको डंगोलले बताए ।
जे बनाउने भनेर सुरु गरिएको थियो र अन्तमा जे बनाइयो, यसले स्थानीयवासीसँगको मनमुटावलाई मात्रै होइन, सरकारले ठूलो स्तरमा विस्तार गर्न सकिने क्षेत्रका रूपमा प्राथमिकतामा राखेको, डेटा सेन्टरको विषयले आगामी दिनमा के–कस्तो तरंग र प्रभाव सिर्जना गर्न सक्छ भन्ने संकेत पनि गर्छ । नवगठित रास्वपा सरकारले सार्वजनिक गरेका सयबुँदे क्रियाकलाप, प्रतिबद्धता पत्रजस्ता दस्ताबेजहरूमा एआई र डेटा सेन्टरलाई देशको आर्थिक रूपान्तरण र आधुनिक पूर्वाधारको मुख्य आधारका रूपमा उल्लेख गरिएको छ ।
ललितपुर वडा नं १६ मा वर्षौंदेखि स्टिलको कारखाना सञ्चालन गर्दै आएका बाबुराजाका अनुसार एनसेलको डेटा सेन्टर निर्माण हुँदा नै चर्को विरोध भएको थियो । ‘रातको समयमा ती मेसिनहरूबाट आउने आवाज यति चर्को हुन्छ कि घरै थर्किन्छ,’ उनले भने, ‘त्यहाँबाट दिनहुँ कालो धूवाँ निस्कन्छ ।’ सेन्टरको अघिल्तिर घर भएका रामकृष्ण राउतले भने, ‘एकदमै डिस्टर्ब गर्छ । चौबिसै घण्टा आवाज आउँछ । अन्त कतै लगिदिए राम्रो हुन्थ्यो ।’
सबै स्थानीयवासीको एउटै गुनासो भने छैन । कतिपयलाई डेटा सेन्टरभन्दा सवारीसाधनको धूवाँ र ध्वनि प्रदूषणले हैरान पारेको छ । वडा १३ का बासिन्दा अमर श्रेष्ठको अनुभवमा निरन्तर दौडिने टिपर र ट्रकहरूले कुलिङ फ्यानभन्दा ठूलो आवाज निकाल्छन् । सवारीसाधनको धूवाँका कारण नक्खु आसपास गर्मी बढी हुने उनको बुझाइ छ । ‘डेटा सेन्टरको छेउमै बस्नेहरूलाई चाहिँ गर्मीभन्दा ध्वनि प्रदूषणले बढी दिक्क बनाउँछ,’ उनले थपे । यो पूर्वाधार बनाउँदा आफूहरूलाई सत्य/तथ्य जानकारी नदिएको विषयमा भने दुवै वडाका बासिन्दा एकमत छन् ।
गुप्ताको चिन्ता भने ध्वनि वा धूवाँ मात्र होइन । ‘यस प्रकारको उच्च जोखिम पूर्वाधार बाक्लो जनसंख्या भएको सहरी क्षेत्रको बीचमा हुनु हुँदैन,’ उनले भनिन् । तर, गुप्ताको यो राय जायज मान्ने वा जायज होइन भनेर तथ्यांकसहित प्रमाणित गर्ने कुनै नियामकीय संरचना नेपालमा छैनन् ।
द काठमान्डु पोस्टले सोधेको प्रश्नहरूको जवाफमा एनसेलले यो सुविधा ललितपुर महानगरपालिकाबाट पूर्ण स्वीकृति लिएर निर्माण गरिएको, अन्तर्राष्ट्रिय रूपमै प्रमाणीकरण भएको र सूचना प्रविधि विभागद्वारा औपचारिक रूपमै देशको पहिलो प्रमाणित डेटा सेन्टरका रूपमा २०२५ को निर्देशनअन्तर्गत स्थापना गरिएको बताएको छ । ‘डेटा सेन्टरले कुनै पनि हानिकारक विकिरण प्रवाह गर्दैन,’ कम्पनीले आधिकारिक इमेलमार्फत भनेको छ । तर निर्माण सुरु हुनुभन्दा पहिले डंगोल र गुप्ताजस्ता सँधियार र स्थानीयवासीलाई हस्ताक्षर गर्न लगाइएको भनिएको कागजात र आफ्नो अनुगमनसम्बन्धी तथ्यांक उपलब्ध गराउन गरिएका अनुरोधका विषयमा भने एनसेलले कुनै प्रतिक्रिया दिएन ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ