नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, जेठ १९, २०८३
2 Views
समाचार सारांश
  • जेष्ठ १८, २०८३ काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ ।
  • लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् ।

Prime Minister's statement on Nepal-India border sparks controversy

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भएको छ ।

‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले संसद्मा भने । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया सुरु भएको छ । विपक्षी सांसदहरूले उनको भनाइ संसद्को अभिलेखबाट हटाउन मागसमेत गरेका छन् । कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेजस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन् ।

शाहका एक सहयोगीका अनुसार केही साताअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारले बेलायती राजदूत रोब फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्नेबारे छलफलसमेत गरेका थिए ।  प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो । नेपालको उक्त भूमिलाई भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेइजिङलाई कूटनीतिक नोट पठाइसकेको संसद्‍मा जानकारी दिए ।

‘हामीले भारत र चीनलाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यी सबै कुरा टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री शाहले संसद्‍मा भने ।

शाहका एक सहयोगीका अनुसार केही साताअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारले बेलायती राजदूत रोब फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्नेबारे छलफलसमेत गरेका थिए ।

कालापानीलगायत सीमाका विषयमा सन् १८१६ को सुगौली सन्धिपछि विवाद सुरु भएको मानिन्छ । नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् १८१९, १८२७, १८३४, १८३५, १८३७, १८४६, १८५०, १८५६, १८६० र १८७९ मा तत्कालीन ब्रिटिस इन्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको ३ सय ७२ वर्गकिलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो । शाहका सहयोगीका अनुसार व्यञ्जनकारले सुगौली सन्धिको पक्ष बेलायत पनि भएकाले विवाद समाधानमा सहयोग पुग्ने प्रमाण तथा नक्सा बेलायतसँग हुन सक्ने तर्क राखेका थिए । ‘बेलायतसँग रहेका ऐतिहासिक प्रमाण र नक्साले भारत र चीनसँगको विवाद समाधान गर्न सहयोग पुर्‍याउन सक्छ,’ ती सहयोगीले भने, ‘बेलायती राजदूतसँगको छलफल भारतसँगको सीमा विवाद स्थायी रूपमा समाधान गर्ने प्रयासअन्तर्गत हो ।’

ती सहयोगीका अनुसार फेनले यो विषय नेपाल–भारतबीचको द्विपक्षीय मुद्दा भएकाले बेलायत हस्तक्षेप गर्न नचाहने संकेत गरेका थिए । तर व्यञ्जनकारले यो विवाद सुगौली सन्धिको ऐतिहासिक विरासत भएकाले बेलायतले नेपालको प्रयासलाई समर्थन गर्नॅपर्ने धारणा राखेका थिए । महाकाली नदी (भारतमा शारदा नदी) को पूर्वतर्फ अवस्थित करिब ३ सय ७२ वर्गकिलोमिटर क्षेत्रफलको लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्र सन् १९६२ को चीन–भारत युद्धयता भारतको नियन्त्रणमा छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शाह प्रधानमन्त्री बनेपछि नेपाल–भारत सीमा कार्य समूह (बोर्डर वर्किङ ग्रुप– बीडब्लूजी) ले गरिरहेको कामबारे जानकारी गराइएको थियो । बीडब्लूजीले सीमास्तम्भ निर्माण, मर्मत, पुनःस्थापना, दसगजा क्षेत्र व्यवस्थापनलगायत प्राविधिक काम गर्छ । तर सुस्ता र कालापानीजस्ता विवादित क्षेत्र यसको कार्यक्षेत्रमा पर्दैन ।

प्रधानमन्त्री शाहलाई मन्त्रीहरू र अधिकारीहरूले समेत सीमापार जग्गा भोगाधिकार तथा सम्पत्तिको स्वामित्वसम्बन्धी विषयबारे पनि जानकारी गराएका थिए । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पनि शाहले सीमा विज्ञहरूसँग छलफल गरेको पुष्टि गरिन् । ‘उहाँले विज्ञहरूसँग विस्तृत परामर्श गर्नॅभएको छ,’ दाहालले भनिन् । सन् २००७ मा सम्पन्न संयुक्त सीमा सर्वेक्षणअनुसार करिब १,२०० हेक्टर नेपाली भूमि भारतीय नागरिकको प्रयोगमा रहेको र १,२५० हेक्टर भारतीय भूमि नेपाली पक्षको प्रयोगमा रहेको नापी विभागका पूर्वमहानिर्देशक तोया बराल बताउँछन् । ‘सन् २००७ मा हामीले सुस्ता र कालापानीबाहेक जीपीएस प्रविधि प्रयोग गरी १ सय ८२ सेट सीमा नक्सालाई अन्तिम रूप दिएका थियौं,’ बरालले भने, ‘त्यस क्रममा दुवै देशका नागरिकले सीमापार जग्गा भोगाधिकार गरिरहेको पाइएको थियो ।’

बरालले २००७ मा तयार गरिएको नेपाल–भारत सीमा नक्सा निर्माणमा नेपाली टोलीको नेतृत्व गरेका थिए । उनका अनुसार सीमापार खेती, प्रयोग र कब्जासम्बन्धी समस्या अझै समाधान भएको छैन । ‘यी विषय समाधान गर्न बीडब्लूजीले काम गरिरहेको छ,’ उनले भने, ‘तर नेपालले भारतीय भूमि अतिक्रमण गरेको छैन । प्रधानमन्त्रीको अभिव्यक्ति प्राविधिक रूपमा सही होइन ।’ बरालका अनुसार अहिले बीडब्लूजीले दुवै देशका नागरिकबाट सीमापार कति भूमि भोगाधिकार भइरहेको छ भन्ने अध्ययन गरिरहेको छ । ‘सुस्ता र कालापानी फरक विषय हुन्,’ उनले भने, ‘सुस्ता भारतीय अतिक्रमणको मुद्दा हो भने कालापानी मूलतः भूभागसम्बन्धी विवाद हो ।’

हालै भारतले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि लामो समयदेखि नेपाल–भारत सम्बन्धमा संवेदनशील विषय बनेको लिपुलेक विवाद फेरि सतहमा आएको थियो । भारतको उक्त घोषणापछि ३ मेमा नेपालले दुवै छिमेकी भारत र चीनलाई कूटनीतिक नोटसमेत पठाएको थियो । ‘दुवै मुलुकले इतिहासकार, नापी विशेषज्ञ र भूगोलविद्हरू सम्मिलित टोली गठन गरेर संवादमार्फत समाधान खोज्नुपर्छ भन्ने भारतको जवाफ थियो,’ शाहले आइतबार भने ।

नापी विभागका तत्कालीन महानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार सन् १९८८ मा नेपाल र भारतबीच स्थायी सीमाको सिद्धान्त र सीमावर्ती नदीलाई आधार मानेर सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको थियो । श्रेष्ठले पनि नेपालले कहिल्यै भारतीय भूमि अतिक्रमण नगरेको बताए । ‘यद्यपि केही ठाउँमा सीमापार जग्गा भोगाधिकारको अवस्था भने छ, जहाँ स्थानीयले खेती र अन्य प्रयोजनका लागि सीमापार भूमि प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसरी कतै भारतीयहरूले नेपाली किसानको जग्गा उपभोग गरिरहेका छन् भने कतै नेपालीहरूले । यसलाई सीमापार उपभोग भनिन्छ ।’

बेलायतसँग सरकारले सीमा विषय उठाएको विषयमा श्रेष्ठले भने, ‘नेपाल सरकारले औपचारिक रूपमा बेलायतसँग नेपाल–भारत सीमा विवादबारे कुरा गरेको विषय सार्वजनिक जानकारीमा छैन ।’ यदि प्रधानमन्त्रीबाट त्यस्तो छलफल भएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने श्रेष्ठको भनाइ छ । ‘प्रधानमन्त्रीले वास्तवमै त्यस्तो छलफल गर्नॅभएको हो, त्यसलाई सकारात्मक कदम मान्नुपर्छ,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र ६४ वर्षदेखि भारतको नियन्त्रणमा छन् । यदि प्रधानमन्त्रीको आग्रहमा बेलायतले मध्यस्थता गर्छ र भारत त्यसमा सहमत हुन्छ भने त्यो महत्त्वपूर्ण र सकारात्मक उपलब्धि हुनेछ ।’

नापी विभागका अर्का एक महानिर्देशकका अनुसार नदी र साना खोलालाई सीमाको आधार मानिएकाले पनि सुस्तालगायतका क्षेत्रमा विवाद सिर्जना भएको हो । ‘हामीले नदी र साना खोलाहरूलाई सीमा मानेका कारण पनि नेपाल–भारतबीच सुस्ता र अन्य केही क्षेत्रमा सीमा विवाद सिर्जना भयो ।’ उनका अनुसार नदीको धार परिवर्तन, कटान, नयाँ बहाव र ऐतिहासिक नक्साको आफू अनुकूलको व्याख्याका कारण सीमा निर्धारण जटिल बनेको हो । सुस्ता विवाद यसको प्रमुख उदाहरण हो । जहाँ गण्डक (नारायणी) नदीको बहाव परिवर्तनले सीमा विवादलाई थप जटिल बनाएको छ ।

विपक्षी नेताहरू, पूर्वकूटनीतिज्ञ र नापी विभागका पूर्वअधिकारीहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति थप प्रस्ट्याउन आग्रह गरेका छन् । ‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ,’ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक्समा लेखेका छन्, ‘संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ ।’ शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको धारणा के भन्ने प्रश्नसमेत गरेका छन् । ‘सरकार बालेनको मत प्रधान कि व्यक्ति बालेनको मत ? रास्वपाको धारणा के हो ?’ उनले प्रश्न गरेका छन्, ‘सीमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौं ?’

भारतका लागि पूर्वनेपाली राजदूत नीलाम्बर आचार्यले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै नेपालले भारतीय भूमि अतिक्रमण नगरेको बताए । ‘नेपाल–भारतबीचका सीमासम्बन्धी करिब ९७ प्रतिशत विषय समाधान भइसकेका छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेजस्तो नेपालले कहीं पनि भारतीय भूमि अतिक्रमण गरेको छैन ।’ आचार्यका अनुसार सीमास्तम्भ हराउँदा कतिपय स्थानमा समस्या देखिने गरेको छ । ‘केही ठाउँमा भारतीयले नेपाली भूमिमा खेती गरिरहेका छन्, कहीं नेपालीहरूले पनि भारततर्फ खेती गरिरहेका छन्,’ उनले भने, ‘तर, यसलाई नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्न मिल्दैन । यी समस्या सीमा विवादभन्दा पनि सीमामा सतहमा आउने समस्या हुन् । तर, प्रधानमन्त्रीले कुन सन्दर्भमा नेपालले भारतीय भूमि मिचेको भन्नुभयो त्यो प्रस्ट छैन ।’

प्रधानमन्त्रीले ‘मिचेको’ शब्द प्रयोग गर्दा सीमापार भूमि भोगाधिकारलाई संकेत गरेका हुन् कि होइनन् भन्ने प्रस्ट छैन । नेपाल–भारत सीमा क्षेत्रमा सीमापार भूमि भोगाधिकारको विषय पुरानो समस्या हो । जहाँ दुवैतर्फका नागरिकहरूले सीमापार भूमिमा खेती र उपभोग गर्दै आएका छन् । एक पुरानो सर्वेक्षणले २ सय ७४ स्थानमा नेपालीहरूले भारतीय भूमिमा खेती गरेको देखाएको थियो । तीमध्ये इलाम, झापा, मोरङ र सुनसरीमा ४३ स्थान, मधेश प्रदेशका आठ जिल्लामा २ सय ११ स्थान, बाँकेमा एक र कञ्चनपुरमा १९ स्थान थिए ।

केही क्षेत्रमा सीमा विवाद छ भन्नु एउटा कुरा हो। तर नेपालले न भारतीय भूमि अतिक्रमण गरेको छ न कब्जा। नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ।– पूर्वपरराष्ट्रमन्त्री कमल थापा त्यसैगरी भारतीयहरूले पनि ६ सय ६८ स्थानमा नेपाली भूमिमा खेती र उपभोग गरिरहेको देखाएको थियो । यी स्थानहरू इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, बर्दिया र कञ्चनपुर जिल्लामा थिए । त्यस अतिरिक्त थप १५ स्थानमा भारतीय पक्षबाट अतिक्रमण भएको खुलेको थियो । यीमध्येका सीमासम्बन्धी केही समस्या स्थानीय तहमै समाधान गर्न सकिने प्रकृतिका थिए ।

रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट उक्त अभिव्यक्ति आएको हो । सभापति लामिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार दिल्ली जाँदै छन् । भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतले स्वयं आजसम्म नेपालले सीमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरेका छन् । ‘केही क्षेत्रमा सीमा विवाद छ भन्नु एउटा कुरा हो । तर नेपालले न भारतीय भूमि अतिक्रमण गरेको छ न कब्जा । नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ,’ पूर्वपरराष्ट्रमन्त्री थापाले एक्समा लेखेका छन्, ‘यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई प्रस्ट पार्नुपर्छ, तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ । तर, मेरो विचारमा प्रधानमन्त्रीको भनाइ अतिरञ्जित र गलत छ ।’ पूर्वपरराष्ट्रमन्त्री थापाले भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता क्षेत्रमा अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता व्यक्त भइरहेका बेला प्रधानमन्त्रीबाट नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्त दुःखद भएको उल्लेख गरेका छन् ।

यसैबीच परराष्ट्र मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्टाउने प्रयास गरेको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा उल्लेख गर्नॅभएको विषय मूलतः दसगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ,’ मन्त्रालयले भनेको छ, ‘नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमासम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ ।’

त्यस्तै मन्त्रालयले ३ मेमा पठाइएका कूटनीतिक नोटबारे भारतबाट जवाफ प्राप्त भएको पनि जनाएको छ । ‘प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले संसद्मा राख्नुभएको कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?