प्रमुख प्रशासकीय अधिकृत नपठाइएसम्म कार्यालय नजाने मेयर यादवको घोषणा
- गोडैता, १४ माघ दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकाका नगरप्रमुख (मेयर) देवेन्द्रकुमार यादवले प्रमुख प्रशासकीय अधिकृत नपठाइएसम्म नगरपालिकाको कार्यालयमा उपस्थित नहुने घोषणा गरेका छन्।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरप्रमुख यादवले आजदेखि कार्यालय नजाने निर्णय गरेका हुन्।

- गोडैता, १४ माघ
दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकाका नगरप्रमुख (मेयर) देवेन्द्रकुमार यादवले प्रमुख प्रशासकीय अधिकृत नपठाइएसम्म नगरपालिकाको कार्यालयमा उपस्थित नहुने घोषणा गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरप्रमुख यादवले आजदेखि कार्यालय नजाने निर्णय गरेका हुन्। गोडैता नगरपालिकामा कार्यरत उपसचिव शम्भुप्रसाद यादव मंसिर २४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छैनन्।
मन्त्रालयले पुस १४ गते उपसचिव हेमबहादुर कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरे पनि उनी अहिलेसम्म हाजिर हुन नआएको नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै आफू तीन पटक काठमाडौं पुगेको तर मन्त्रालयले समस्या समाधान नगरेको नगरप्रमुख यादवले उज्यालो अभियानसँग गुनासो गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको कात्तिक महिनादेखिको तलब निकासा हुन नसकेको र सामाजिक सुरक्षा भत्ता समेत रोकिएको यादवले बताए। आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माणका काम पूर्ण रूपमा प्रभावित भएको र नगरपालिकामा गम्भीर संकट उत्पन्न भएको उनको भनाइ छ।
कार्यालय पुगे पनि कुनै निर्णय वा काम गर्न नसकिने अवस्था रहेकाले विज्ञप्ति जारी गर्दै कार्यालय नजाने घोषणा गरिएको नगरप्रमुख यादवले जानकारी दिए। आर्थिक कारोबार अवरुद्ध हुँदा कार्यालयका दैनिक आवश्यक सामग्री, विद्यालयका स्यानेटरी प्याड तथा स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र सरुवा भएर आएका कतिपय अधिकृत हाजिर नै नहुने प्रवृत्तिका कारण मधेश प्रदेशका स्थानीय तहहरू लामो समयदेखि यस्ता समस्याबाट गुज्रँदै आएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ