रेशमलाई दीर्घकालीन र रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा मन्त्री परियारको जोड
- कृषि तथा पशुपन्छी विकासमन्त्री डा.
- मदनप्रसाद परियारले रेशम क्षेत्रलाई सामान्य हस्तकला वा सानो कृषि गतिविधिको रूपमा सीमित नराखी दीर्घकालीन र रणनीतिक कृषि–औद्योगिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले रेशम क्षेत्रलाई सामान्य हस्तकला वा सानो कृषि गतिविधिको रूपमा सीमित नराखी दीर्घकालीन र रणनीतिक कृषि–औद्योगिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय रेशम सम्मेलन नेपाल–२०२६ लाई सम्बोधन गर्दै मन्त्री परियारले रेशम उद्योगले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, महिला तथा युवाको सशक्तिकरण, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत समावेशी आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने बताए।
उनले रेशम क्षेत्रलाई छिन्नभिन्न र परम्परागत सोचमा सीमित राख्नुको सट्टा आधुनिक प्रविधि, मूल्य श्रृंखला विकास र निजी क्षेत्रको नेतृत्वमार्फत औद्योगिक स्वरूप दिनुपर्ने आवश्यकता औंल्याए। “रेशम अब अल्पकालीन परियोजनाको विषय होइन, दीर्घकालीन रणनीतिक क्षेत्रका रूपमा स्थापित हुनुपर्छ,” मन्त्री परियारले स्पष्ट पारे।
मन्त्री परियारका अनुसार योजनाबद्ध किम्बु खेती, क्लस्टर विकास, वैज्ञानिक उत्पादन प्रणाली, गुणस्तर प्रमाणीकरण र बजारमुखी प्रशोधन उद्योगको विकास रेशम क्षेत्रको सफलताका आधार हुन्। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट भूमिका बाँडफाँड, निजी क्षेत्रसँग प्रभावकारी साझेदारी र प्राविधिक संस्थाको सुदृढीकरण अपरिहार्य रहेको उनले बताए।
रेशम उद्योगले ग्रामीण आयआर्जन, सीप तथा उद्यम विकास र जलवायु अनुकूल हरित अर्थतन्त्र प्रवर्द्धनमा पनि उल्लेखनीय भूमिका खेल्न सक्ने सरकारको विश्वास रहेको मन्त्री परियारले उल्लेख गरे। उनले सम्मेलनमा हुने प्राविधिक छलफलबाट व्यवहारिक मोडल, नीतिगत सुझाव र लगानीमैत्री कार्यक्रमको आधार तयार हुने अपेक्षा व्यक्त गर्दै सम्मेलनपछि तयार हुने प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराउन आयोजकलाई आग्रह गरे।
ह्यान्डलूम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्र, खोपासीको संयुक्त आयोजनामा भएको सम्मेलनले रेशम क्षेत्रको पुनरुत्थान र दिगो विकासका लागि महत्वपूर्ण दिशानिर्देश तय गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ